२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

भाेज खाएकाे विल भुक्तानीकाे विषयले शारदा नगरपालिकामा कर्मचारीबीच हानाहान

सल्यान ।

सल्यानकाे शारदा नगरपालिकामा भाेज खाएकाे विल भुक्तानीकाे विषयमा विवाद हुँदा कर्मचारीबीच हात हालाहाल भएकाे छ ।

केही दिन अगाडि कुमाख गाउँपालिकाकाे नेटामा सम्पन्न भएको सल्यान जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा नगरपालिकाले हात पारेकाे थियाे । त्यसकाे खुसीयालीमा केहि कर्मचारीहरुले खलंगाकाे चन्द्रपालामा खसी काटेर भाेज खाएका थिए ।

साे रकम भुक्तानीकाे सवालमा विवाद हुँदा कर्मचारीबीच हानाहान भएकाे हाे । नगरपालिकामा कार्यरत पुर्ण चन्द्र शर्मा (पिसी)ले कर्मचारीले भाेज खाए बापतकाे ३५ हजारकाे विल भुक्तानीकाे लागी लेखा शाखामा लिएकाे र त्याे रकम अहिले भुक्तानी गर्न नसकिने लेखापाल स्याम सिंहले बताएपछि हात हालाहालकाे अवस्था सृजना भएकाे हाे ।

‘उहाँले भाेज खाएकाे ३५ हजारकाे विल म कहाँ ल्याउनुभयाे । मैले अहिले याे शिर्षकमा पैसा छैन । पछि कतैबाट मिलाउँला भन्दा उहाँ सिधै ममाथी जाइलाग्नुभयाे’, लेखापाल स्याम सिंहले भने । शर्माकाे आक्रमणबाट आफ्नाे चस्मा फुटेकाे उनले बताए । ‘उहाँले मलाइ हात हालेपछि मैले पनि उहाँलाइ धकेलेकाे हुँ तर उहाँले मलाइ बढी आक्रमण गर्नुभयाे’, सिंहले भने ।

स्राेतकाअनुसार दुवैजना एक अर्कामाथी आक्रमणमा तम्सिएपछि नगर प्रहरीले झगडा छुटाएका थिए । शर्माले केटाहरु लगाएर ज्यान मार्ने धम्की दिएपछि अहिले आफु नगरपालिकामा बस्ने अवस्था नभएकाे र सुर्खेत घर गएकाे सिंहले बताए ।

यता शर्माले भने यस विषयमा केहि नभएकाे र आफुले केहि प्रतिक्रिया नदिने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले आधिकारीक रुपमा कार्यालयमा कुनै जानकारी नभएकाे र विवाद सामान्य अवस्थाकाे भएकाे प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस