२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

२१ औँ शताब्दीमा  जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद र निरर्थक, ने.क.पा. एमाले

काठमान्डौं, ४ चैत ।  ने.क.पा. एमालेले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल हुन नसक्ने बताएको छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको सचिवालय बैठकमा उपमहासचिव प्रदीप ज्ञवालीले केही समय अघि देखि लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध सुनियोजित गतिविधिहरू भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

लोकतान्त्रिक गणतन्त्र नेपाली नागरिकको सात दशक लामो बलिदानी सङ्घर्षको परिणाम भएको उल्लेख गर्दै उहाँले नागरिकको यस फैसलालाई उल्ट्याउने प्रयास सफल हुन नसक्ने जिकिर गर्नुभयो । २१औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हाँस्यास्पद र निरर्थक भएको बताइएको छ । 

बैठकमा एमालेले संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरताको सुनिश्चित गर्ने, सुशासन र आर्थिक विकासका साथै सुधारको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको बताएको छ । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरी लोकतान्त्रिक प्रणाली थप सुदृढ बनाउन दृढ सङ्कल्पित रहेको बताएको छ । यस्तै बैठकले लुम्बिनी प्रदेश कमिटीले अनुमोदनका लागि पठाएको प्रदेशमा थप गरिएका २८ जना सदस्यको नाम अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनुभयो । 

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस