२०८२ बैशाख ६ गते शुक्रवार | 2025 April 18th Friday

प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने

काठमाडौँ, ३ चैत । प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ ।प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको शनिवार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधिसभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो । चैत ४ गते र चैत ७ गते बस्ने बैठकले सबै प्रतिस्थापन विधेयक पास गरेर राष्ट्रिय सभामा पठाइने भएको छ । 

कार्य व्यवस्था परामर्श समितिको बैठकले चैत ४ गतेदेखि १५ गतेसम्मको कार्यतालिका पनि बनाएको छ । प्रतिस्थापन विधेयकका साथै नियमित प्रक्रियाबाट आएका विधेयक पनि पारित गर्ने प्रतिनिधिसभाको योजना छ ।सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि गत पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश ल्याएको थियो । सरकारले अध्यादेश ल्याएपछि बस्ने संसदको पहिलो बैठकमा पेश हुने र त्यसको ६० दिनभित्र संघीय संसदको दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट लालमोहर लागि सक्नुपर्ने संवैधानिक व्यवस्था छ । 

सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रियसभामा टेबल गर्ने अवस्था नै नबनेपछि फिर्ता लिइएको छ । बाँकी संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभाको बैठकमा नै छलफल गरी निर्णयार्थ अगाडि बढाइने कार्य योजना छ ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस