सल्यानका ४ क्याम्पसमा स्ववियु चुनाव : कतै त्रिपक्षीय, कतै द्विपक्षीय प्रतिस्पर्धा

सल्यान ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सल्यानमा रहेका ७ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन निर्विरोध भएकाे छ ।
जिल्लाको बन्गाड क्याम्पस, कपुरकोट क्याम्पस र शारदा क्याम्पस शंखमुलमा सर्वसम्मत रुपमा निर्विराेध निर्वाचन भएकाे हाे । बन्गाड क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारीका जीवन बिष्ट, कपुरकोट बहुमुखीमा कांग्रेस निकट नेविसंघका झलक ओली र शारदा क्याम्पस शंखमुलमा एमाले निकट अनेरास्ववियुका विश्व खड्का सभापति चयन भएका हुन् । यी क्याम्पसमा सभापति भन्दा तलका पदहरुमा पनि विभिन्न संगठनबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरु निर्विराेध भएका छन् ।
जिल्लाका ४ वटा क्याम्पसमा भने निर्वाचन हुने भएकाे छ । सल्यान बहुमुखी क्याम्पस खलंगा, जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी र फारुला क्याम्पस दार्मामा भने निर्वाचन हुने भएको छ ।
सल्यान बहुमुखी क्याम्पस खलंगा लुहापिङ्गमा त्रिपक्षीय चुनाव हुँदै छ । माओवादी निकट अखिल क्रान्तिकारीबाट सितल कुँवर, कांग्रेस र एमालेकाे गठबन्धनबाट अनेरास्ववियुका विशाल पुन र विप्लव निकट अखिल (समाजवादी)बाट राजेन्द्र खड्काको सभापतिमा उम्मेदवारी रहेकाे छ।
यस्तै जनकल्याण कयाम्पस थारमारेमा माओवादी र एकीकृत समाजवादीकाे गठबन्धनबाट अखिल क्रान्तिकारीका गणेश वली र एमाले कांग्रेसकाे गठबन्धनबाट नेविसंघका फलेन्द्र पुरीकाे सभापतिमा उम्मेदवारी रहेकाे छ ।
शितलपाटीमा रहेकाे शिवजन क्याम्पसमा अखिल क्रान्तीकारीका रोसन खड्का, नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट सुरज हमालकाे सभापतिमा उम्मेदवारी छ ।
उता दार्मा गाउँपालिकामा रहेकाे फारुला क्याम्पसमा माओवादी निकट र विप्लव निकटका विद्यार्थीहरु बीच चुनावी प्रतिस्पर्धा चलेकाे छ । माओवादी निकट अखिल क्रान्तिकारीकी हीमा शर्मा एक्लै चुनावमा हाेमिएकी छन् भने विप्लव निकट अखिल समाजवादीबाट निशान देवकोटाले सभापतिका लागि उम्म्दवारी दिएका छन् । यहाँ विप्लव निकटका उम्मेदवारलाइ कांग्रेस र एमाले निकटका विद्यार्थी संगठनले सघाइरहेका छन् ।