२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

ने.क.पा. एकीकृत समाजवादीद्वारा आन्दोलनको घोषणा, चैत १५ गते काठमान्डौंमा वृहत् विरोध कार्यक्रम गर्ने

काठमान्डौं, १ चैत ।   ने.क.पा. एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गरेको बताउनु भएको हो । सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उहाँले बताउनुभयो ।

पार्टीले आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीभित्र छलफल, सुझाव सङ्कलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यसैबीच, समाजवादी मोर्चाको आज बसेको बैठकले पछिल्लो समय भइरहेका प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्नेसहित विभिन्न निर्णय गरेको छ ।

आज एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले भोलि बुद्धिजीवी र नागरिक समाजसँग छलफल गर्ने निर्णय गरेको ने.क.पा.का नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 

यसैबीच, मोर्चाले चैत १५ गते काठमान्डौंमा वृहत् विरोध कार्यक्रम गर्ने समेत निर्णय गरेको बुझिएको छ । महासचिव भुसालले वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन गर्ने र वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र पेश गर्ने त्यस्तै वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ ।

यो अभियान बेरोजगारी र कुशासन विरुद्ध क्रान्तिकारी पहलकदमी भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरू बीच सहकार्य र एकताको अभियान भएको जिकिर गर्नुभयो । ने.क.पा. एकीकृत समाजवादीले वर्तमान सत्ता गठबन्धनले देशको आर्थिक समस्या समाधान गर्न नसक्ने आरोप लगाएको छ । रोजगारी र सुशासन राज्यको मुद्दा नबनुन्जेलसम्म आन्दोलन जारी रहने जिकिर गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस