२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

आज र भोलि फागु अर्थात होली पर्व मनाइँदै

गोविन्द दहाल,  काठमान्डौं, २९ फागुन । आज रङ, प्रेम र सद्धभावको पर्व होली । यो वर्षको होली पहाडी र हिमाली जिल्लामा आज तथा तराई, मधेशका जिल्लामा भोलि मनाइँदै छ । 

यो पर्व फाल्गुन शुक्ल पूर्णिमामा मनाइने गरिन्छ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन रहेको छ । यो पर्वलाई एक आपसमा खुशी साट्ने दिनका रूपमा पनि लिइन्छ । यही पर्वलाई तराई–मधेश क्षेत्रमा होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा पनि रहेको छ ।

असत्यमाथि सत्यको विजयको प्रतिक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन रहेको छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख गरिएको छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ । काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि फागुपर्व शुरू हुने गर्दछ । फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस