२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

स्ववियु निर्वाचन  ५१ मा मनोनयन, ११ मा अनिश्चित

काठमाण्डौँ, २८ फागुन । देशभरका ११ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । हिजो मनोनयन दर्ता हुने अन्तिम समय दिउँसो ५ बजेसम्म मनोनयन भएन । त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ५ र उपत्यका बाहिरका ६ गरी ११ वटामा मनोनयन हुन सकेन ।

तीन ठूला विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच सहमति हुन नसक्दा ११ वटा क्याम्पसमा मनोनयन दर्ता नभई निर्वाचन प्रक्रिया भाँडिएको छ । मनोनयन हुन नसकेका ११ क्याम्पसमध्ये काठमाडौंको सरस्वती, नेपाल ल र विश्वभाषा, आयुर्वेद र पब्लिक युथ क्याम्पस धोबीचौर छन् । उपत्यकाबाहिर मधेस प्रदेशका ३, लुम्बिनीका २ र गण्डकी प्रदेशको १ रहेको छ ।

मधेस प्रदेशका सबैभन्दा धेरै विद्यार्थी भएको जनकपुरको रामस्वरूप रामसागर ९रारा० बहुमुखी, महेन्द्र विन्देश्वरी र सूर्यनारायण सत्यनारायण वरवैत्ता बहुमुखी क्याम्पस छन् । लुम्बिनी प्रदेशका बुटवल बहुमुखी र भैरहवा बहुमुखी क्याम्पस भैरहवा छन् । यी दुई क्याम्पसमा लुम्बिनी प्रदेशका सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् । त्यस्तै, गण्डकी प्रदेशको वाग्लुङको धौलागिरि बहुमुखी क्याम्पसमा पनि प्रक्रिया भाँडिएको छ ।

उपत्यकाको शंकरदेव क्याम्पसमा हिजो दिउँसो ४ बजेबाट मात्र अनलाइनबाट प्रक्रिया शुरू भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले मनोनयन प्रक्रिया स्थगित भएका क्याम्पसमा क्याम्पस निर्वाचन समितिले निर्वाचनको मिति तय गरी निर्वाचन गर्ने अधिकार दिएको छ ।

दुई वर्षअघि २०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन । निर्वाचनको मिति नजिकिँदै जाँदा उपत्यकालगायत देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गतिविधि बढेसँगै केही क्याम्पसमा सामान्य झडपको स्थिति भएको थियो ।

निर्वाचन निर्देशिकाअनुसार निर्वाचन हुन नसकेका क्याम्पसले आपसी सहमति गरी १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । मनोनय दर्ता भएका क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता गर्न नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) ले केन्द्रीय नेता खटाएको थियो । उपत्यका र बाहिरका क्याम्पसका निर्वाचन समितिले पटकपटक म्याद थपेर मनोनयन गर्दा गरेका थिए ।

मनोनयन गर्ने क्रममा केही क्याम्पसमा असन्तुष्ट समूहले विरोध गरेका थिए । मनोनयन दर्ता गर्ने क्रममा सबै क्याम्पसमा कडा सुरक्षा व्यवस्था थियो । प्रहरीको टोली क्याम्पसभित्रै प्रवेश गरेर सुरक्षा दिएको थियो । कडा सुरक्षा व्यवस्थाका कारण अप्रिय घटना नभएको निर्वाचन समितिले जनाएको छ । सदस्य सचिव अधिकारीले एकाधबाहेक शान्तिपूर्ण रूपमा मनोनयन दर्ता सम्पन्न भएको जानकारी दिनुभयो ।

मनोनयन दर्ताका क्रममा विभिन्न अवाञ्छित गतिविधि हुने सम्भावना भएपछि उपत्यकासहित सबै आंगिक र निर्वाचन हुने सम्बन्धन प्राप्त क्याम्पसभित्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । मनोनयन दर्तापछि भोलि २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २९ गते दिनको १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

कार्यतालिकाअनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । त्रिविले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरू हुनेछ । मौन अवधि शुरू भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरिएको छ । एता, त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघसँग प्रतिस्पर्धा गर्न ७ संगठनको तालमेल गरी संयुक्त प्यानल बनाएका छन् । त्रिचन्द्रमा नेविसंघको तर्फबाट गोविन्द कोइरालालाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।

सात संगठनको तर्फबाट अनेरास्ववियुका प्रमित विष्टलाई अध्यक्षको उम्मेदवार खडा गरिएको छ । अनेरास्ववियुलाई २, अनेरास्ववियु (क्रान्तिकारी) लाई ३, अनेरास्ववियु (क्रान्तिकारी बहुमत), अनेरास्ववियु समाजवादी, अनेरास्ववियु छैटौं र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघलाई १–१ सिट भागबण्डा गरिएको छ । त्रिवि केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्राडा पशुपति अधिकारीले दिनुभएको जानकारीअनुसार हालसम्म बाजुरा, मुस्ताङलगायत देशभरका करिब १५ वटा क्याम्पसमा स्ववियुका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस