सरकारी लेटरप्याडमा ‘श्री ५ महाराजधिराज’ सम्बोधनका कारण पोर्चुगलका पर्यटन दूत बास्तोलालाई सरकारले हटायो

काठमान्डौं, २७ फागुन । सरकारी लेटरप्याडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोलालाई सरकारले हटाएको छ ।
मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बिनोद प्रकाश सिंहले बास्तोलालाई दूतबाट हटाएको बताउनु भयो । बास्तोलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उहाँलाई दूतबाट हटाएको हो । उहाँलाई मन्त्रालयले २०८० माघ १३ गते दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवद्र्धकमा नियुक्त गरेको थियो ।
पर्यटन दूत बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गर्नुभएको थियो । बास्तोला ने.क.पा. माओवादी केन्द्रका नेता हितवहादुर तामाङ पर्यटनमन्त्री भएका बेला पर्यटन दूतमा नियुक्त हुनुभएको थियो ।