२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

प्रतिगामी तत्वहरु सल्बलाउन थालेका पूर्वप्रधानमन्त्री नेपालको भनाइ, परिवर्तनकारी शक्तिहरु एक जुट हुनुपर्ने जोड

काठमान्डौं, २७ फागुन ।  ने.क.पा. एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रतिगामी तत्वहरू सल्बलाउन थालेकाले परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उहाँले जनताको लामो सङ्घर्षबाट प्राप्त अधिकार तथा वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनु भयो । उहाँले सरकारले कार्यशैली सच्याएर गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनु भयो ।

केही समय अघि देखि काठमाडौँ उपत्यका लगायत मुलुकका केही सहरहरूमा भइरहेका नारा र जुलुसले सरकार मात्र होइन लोकतन्त्रमाथि नै प्रहार भइराखेको उहाँको भनाइ रहेको थियो । अध्यक्ष नेपालले लोकतन्त्रमाथिको प्रहार सह्य नहुने विचार प्रकट गर्नुहुर्दै संविधान र लोकतन्त्रका साथै सङ्घीय गणतन्त्रको रक्षाका लागि सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । 

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान तथा सङ्घर्षबाट प्राप्त भएकाले त्यसको रक्षाका लागि सबै एकताबद्व हुनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले सङ्घीय लोकतन्त्रमाथि धावा बोलिरहेकाले जनता चनाखो हुनुपर्ने र संविधानको उल्लङ्घन गर्ने छुट कसैलाई पनि नभएको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस