२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

इजरायलले गाजामा बन्द ग¥यो विद्युत आपूर्ति सेवा

काठमान्डौं, २६  फागुन ।  इजरायलले गाजा क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । हमास समूहलाई ५९ जना बन्धकको रिहाइका लागि दबाब दिन इजरायलले विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको हो । इजरायलका ऊर्जामन्त्री एली कोहेनले विद्युत निगमलाई गाजातर्फको कटौती गर्न आदेश दिइसकेको बताउनु भयो । उहाँले बाँकी बन्धकको रिहाइका लागि आफूहरुसँग भएका सबै विकल्पहरु प्रयोग गर्ने क्रममा विद्युत आपूर्ति बन्द गरिएको बी.बी.सी.ले उल्लेख गरेको छ । 

गत हप्ता इजरायलले गाजा क्षेत्रमा राहत सामग्री, तेल र अन्य वस्तु लिएर जाने गाडीहरु रोकेको थियो । इजरायलले पानीको आपूर्ति बन्द गर्ने विषयमा पनि सोचिरहेको बताएको छ । हमास समूहसँग भएको युद्धविरामको पहिलो चरण कार्यान्वयन भए पनि दोस्रो चरणमा आइपुग्दा फेरि तनाव सुरु भएको छ । युद्धविरामको पहिलो चरणमा ३३ बन्धक रिहा गरेको हमासले दोस्रो चरण सुरु गर्नेबारे वार्ता र छलफल नै नभएको बताएको छ । नेपालका विपिन जोशी सहित ५९ जनाको बन्धक रिहाई अझै अनिश्चित रहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस