२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

रुपन्देही अदालतले रा.स्व.पा.का सभापति लामिछानेको अर्को तारिख वैशाख २३ गतेलाई तोक्यो 

काठमान्डौं, २६ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले अर्को तारिख आगामी वैशाख २३ गतेलाई तोकेको छ । 

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा लामिछाने विरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न आज  त्यहाँ जानु भएको थियो । उहाँको सचिवालयले बैशाख २३ गतेका लागि अर्को तारेखको मिति तय भएको जनाएको छ । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले रवि लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा उपस्थित भएको जानकारी दिनु भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ गते रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो । मुद्दामा गीतेन्द्रबाबु जी.बी. राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो । 

आदेश आएको ४४ दिनपछि जिल्ला अदालतको एक करोड धरौटीमा छोड्ने आदेशविरुद्ध लामिछाने बुटवलस्थित तुलसीपुर उच्च अदालत बुटवल इजलासमा ७३ नम्बर दर्ता गरेर जिल्ला अदालतमा तारेख बुझ्न पुग्नु भएको हो । उहाँले यो आदेशमा चित्त नबुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय पनि उहाँलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस