परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जान खोज्दै, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दहाल

काठमान्डौं, १६ फागुन । ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै सरकार नै दोषी रहेको आरोप लगाएको हो । सरकारका नराम्रा कामहरूको फाइदा उठाएर व्यवस्था विरोधीहरूले अभियान सञ्चालन गरेको निष्कर्ष निकालेको बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले बैठकमा तराई÷मधेश अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्वतन्त्र विद्यार्थी युनियन चुनावको बारेमा छलफल भएको बताउनुभयो ।
यसैबिच, बैठकमा अध्यक्ष दहालले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गर्नुभएको थियो । उहाँले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारीमा आफू रहेको बताउनुभएको छ ।