मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने

काठमाण्डौँ, २६ फागुन । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा गाडी सञ्चालनमा ल्याइने भएको छ । स्थानीयवासी तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक गाडी सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले सार्वजनिक गाडी सेवालाई व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीयवासी, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।
मनाङमा अहिलेसम्म यात्रुका लागि मुख्य रूपमा पाँच सिटे क्षमताका पिकअप जीप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ । सार्वजनिक गाडी सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ ।