२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण

काठमाण्डौँ, २६ फागुन ।  पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विवादकाबीच क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तीव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन एवं निर्माणलाई गति दिएको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ ठाउँमा  शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको बजेटमार्फत हरेक ठाउँमा ४ कोठे शौचालय निर्माण गरिएको उहाँले बताउनुभएको छ । विभिन्न स्थानमा कुल १६ वटा प्यान रहेको शौचालय निर्माण गरिएको समितिले जनाएको छ । पाथीभराको भेटीमार्फत दर्शनार्थीको सहजताका लागि शौचालय निर्माण गरिएको हो । 

पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतका अनुसार चन्द्रमा ढुङ्गाको छेउमा १८ लाख रुपियाँ र ठूलो घण्टी रहेको स्थानदेखि करिब ५० मिटर तल २४ लाख रुपियाँको लागतमा शौचालय निमार्ण भएका छन् । त्यस्तै हरियो पाटी छेउमा २० लाख र रमिते चौतारीको छेउमा २२ लाख रुपैयाँको  लागतमा निर्माण कार्य जारी छ ।

यी दुई स्थानका शौचालय निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ । यस्तै पुराना शौचालयको समेत पुनर्निर्माण तथा व्यवस्थापन गरिएको छ । समितिका अनुसार करिब ६ लाख रुपियाँको लागतमा पुराना शौचालयको मर्मत गरिएको छ। फुटेका ढोका, उप्केको स्थल तथा चुकुल मर्मतलगायतको काम गरिएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस