गीतकार अधिकारीको ‘पानीको परेड’ कविता संग्रह सार्वजनिक

काठमान्डौं, २५ फागुन । गीतकार दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ लोकार्पण भएको छ । कवि समेत रहनु भएका अधिकारीले कविता छाप्नु भएको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले ‘पानीको परेड’ प्रकाशन गरेको हो । उहाँले वि.स.२०३२ साल चैतमा ‘रत्नश्री’ कविता छाप्नु भएको थियो ।
‘पानीको परेड’ कविता संग्रहभित्र कवि अधिकारीले ७७ वटा कविता समेट्नु भएको छ । कवि अधिकारीले कवि मोमिला र नवराज लम्साललाई ‘पानीको परेड’ पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गर्नुभएको थियो । यसैगरी, ‘अतिरिक्त अभिलेख’ कविता संग्रहका लागि मदन पुरस्कार प्राप्त कवि अधिकारीको अघिल्लो संग्रह ‘भरियाको भूगोल’ पनि प्रकाशित भइसकेको छ । उक्त १८० पृष्ठको ‘पानीको परेड’ को मूल्य ५ सय २५ रुपैयाँ रहेको बुझिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार