सल्यानमा अदुवाको उत्पादन निरन्तर घट्दो क्रममा

सल्यान
बोसे जातको अदुवा उत्पादनको जिल्लाको रूपमा चिनिएको सल्यानमा पछिल्लो समय अदुवाको उत्पादनमा बर्सेनि गिरावट आइरहेको छ । बजारको सुनिश्चितता नहुनु, रोग, किरा तथा जलवायु परिवर्तनको असरका कारण जिल्लामा अदुवा उत्पादन बर्सेनि घट्दै जान थालेको छ ।
कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा एक हजार ६ ७० हेक्टरमा अदुवा खेती हुँदा २६ हजार २७३ मेट्रिकटन उत्पादन भएको थियो । आर्थिक वर्ष ०८०/८१ मा उत्पादनको क्षेत्रफल घटेर एक हजार ४२० हेक्टरमा मात्र खेती भएको छ । जसमा २२ हजार १० मेट्रिकटन अदुवा उत्पादन भएको छ । चालू आव ०८१/०८२ मा एक हजार ४२० हेक्टरमा खेती हुँदा २० हजार ९०९ मेट्रिकटन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले जानकारी दिए ।
अदुवा उत्पादन हुने स्थानमा किसानले तरकारी खेतीलाई जोड दिनु, रोग किराको प्रकोप तथा सुक्खाका कारण यो वर्ष पनि अदुवाको उत्पादनमा गिरावट आएको उनको भनाइ छ । उनले यो वर्ष अदुवाका लागि आवश्यक पर्ने समयमा पानी पर्न नसकेकाे र त्यसकारण जमिन धेरै सुक्खा हुन पुगेकाले अदुवामा रोग किराको आक्रमणमा पनि उत्तिकै भएकाे बताए ।
उत्पादन भएको अदुवामध्ये आठ हजार नाै मेट्रिकटन अदुवा मात्र जिल्लाबाहिर निकासी हुने गर्दछ । सल्यानको अदुवा देशका विभिन्न जिल्लासहित विदेशमा समेत निर्यात हुने गर्दछ ।
सल्यानको अदुवा विशेषगरी भारत निकासी हुने गर्दछ । भारतको माग धेरै हुँदा किसानले अदुवाको मूल्य पाउने र माग कम हुँदा कौडीको भाउमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । अदुवामा लागेको लागतअनुसारको मूल्य नहुँदा किसान अदुवाखेतीबाट विमुख हुन थालेको किसानको भनाइ छ । विगत दुई आर्थिक वर्षमा केही हदसम्म मूल्य पाए पनि लगानीअनुसारको मूल्य भने नपाएको किसान गोमा पुरीको भनाइ छ