२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

नेपाल बारमा सत्तापक्ष र विपक्षीबीच मोर्चाबन्दी हुँदै

काठमान्डौं, २२ फागुन  । अबका चुनाव एक्ला एक्लै लड्ने भनेर घोषणा गरेका नेपाली कांग्रेस र ने.क.पा. एमालेबीच नेपाल बार एसोसियसनको निर्वाचनमा गठबन्धन भएको छ । 

कांग्रेस र एमाले गठबन्धनबाट अध्यक्षमा बिजय मिश्र र महासचिवमा केदार कोइरालाले उम्मेदवारी मनोनयन गरेका छन् । मिश्र कांग्रेस र कोइराला एमाले निकट हुन् । त्यस्तै सत्ता गठबन्धनविरुद्ध माओवादी केन्द्र र रा.स्व.पा. निकट वकिलले पनि गठबन्धन गरेका छन् । विपक्षी गठबन्धनबाट अध्यक्षमा माओवादीका रमन श्रेष्ठ र महासचिवमा रा.स्व.पा.का यज्ञमणी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल बारको निर्वाचन आगामी चैत २३ गते हुँदैछ ।  यसअघि उच्च बार पाटनदेखि बार काउन्सिलको निर्वाचनसम्म मिलेर लडेका एमाले र माओवादीनिकट वकिलहरु नेपाल बारको निर्वाचनमा भने फरक कित्तामा पुगेका छन् । एमालेनिकट पि.पि.एल.ए. र माओवादीनिकट आर.पी.एल.ए.बीच नेपाल बारमा पनि गठबन्धन गरेर जाने सहमति यसअघि भएको थियो । सो गठबन्धनमा रा.स्व.पा.लगायत अन्य संगठनले पनि समर्थन जनाएका थिए । बरिष्ठ अधिवक्ता शम्भु थापा,कृष्णप्रसाद भण्डारी,सतिशकृष्ण खरेल लगायतको पहलमा गठबन्धनको निर्णय भए पनि कांग्रेस र एमालेका शीर्ष नेताले सत्ता गठबन्धन बनाउन निर्देशन दिएको बताइएको छ । 

यसैबिच, यो पटक निर्वाचनमा व्यापक मत क्रस हुने अनुमान गरिएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुकै निर्देशनमा बारमा सत्तापक्षीय गठबन्धन भएको हो । जबकी नेपाल बारमा कांग्रेस एक्लै र अन्य वामहरु मिल्दा बराबरी शक्ति हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस