२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

एसईईमा ५ लाख २२ हजार परीक्षार्थी सहभागी हुने, प्रश्नपत्र जिल्ला- जिल्लामा पठाइँदै

काठमाण्डौँ, २२ फागुन ।  आगामी ७ चैतदेखि हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा लागि ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का अनुसार २०८१ को एसईईका लागि नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०८०) र पुराना ग्रेड वृद्धिकै लागि ४ हजार (२०७८–०७९) ले फारम भरेका छन् । निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीका अनुसार परीक्षा केन्द्र २१ सय ३१ वटा तोकिएको छ ।

विद्यार्थीले भरेको फारमको आधारमा प्रश्नपत्र छपाइको काम धमाधम भइरहेको छ । निमित्त परीक्षा नियन्त्रक ज्ञवालीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइको काम भइरहेको छ । प्रश्नपत्रको गोपनीयताको लागि परीक्षा नियन्त्रक नन्दलाल पौडेल प्रश्नपत्र छपाइस्थलमै बसिरहेका छन् । प्रदेश – प्रदेशमा कार्यशाला गरेर ल्याइएको प्रश्नलाई छनोट गरेर प्रश्नपत्र बनाइएको छ । नियन्त्रक ज्ञवालीका अनुसार केन्द्रले प्रश्नपत्र मात्र छपाइ गर्ने र बाँकी व्यवस्थापनको काम प्रदेश र जिल्लाले गर्ने छ ।

प्रश्नपत्र छपाइसँगै जिल्ला जिल्लामा प्रश्नप्रत्र पुर्‍याउने काम भइरहेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा प्रश्नपत्र पुगिसकेकेको छ । प्रदेशबाट जिल्ला जिल्लामा प्रश्नपत्र पुर्‍याइने छ । परीक्षा केन्द्रको सुरक्षाको व्यवस्था गृहमार्फत जिल्लास्थित सुरक्षा निकायबाट हुने निमित्त नियन्त्रक ज्ञावालीले बताए । परीक्षाको समयमा हुल बनाएर अनुगनम जान भने रोक लगाइएको छ । आवश्यकताको आधारमा जिल्लास्थिति परीक्षा समन्वय समितिले व्यवस्थापन गर्ने छ ।

यस्तै, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसपपटक पनि जापानबाट ३७ जना परीक्षार्थी सहभागी हुँदै छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरुले परीक्षा दिन लागेका हुन् । मुख्यगरी जापानको टोकियो रहेको एभरेस्ट इन्टरनेसनल स्कुलमा नेपाली कोर्स पढाइ हुने गरेको छ । नेपाली पाठ्यक्रम अनुसार नै नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ । रोजगार र अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूले सन् २०१३ मा टोकियो सहरमा नेपाली विद्यालय खोल्ने निर्णय गरेका हुन् । जापानस्थित नेपाली दूतावासको पहलमा विद्यालय खोलिएको हो । उक्त विद्यालयमा १० कक्षासम्म नेपालबाट नै सम्बन्धन लिएर सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस