पर्साको कालिकामाईको विद्यालयका १८ विद्यार्थी अचानक बेहोस, विद्यालय दुई दिनका लागि बिदा

काठमान्डौं, १९ फागुन । पर्साको कालिकामाई गाउँपालिका ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १८ विद्यार्थी अचानक बेहोस भएका छन् । बेहोस् भएका १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने एक जना अझै उपचार गराइरहेका छन् । कालिकामाईका अध्यक्ष बशिष्ट कुमारका अनुसार एक विद्यार्थीको अवस्था अलि बढी बिग्रेपछि वीरगंज लग्नुपरेको छ । बाँकी विद्यार्थीहरु अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
विद्यार्थीहरु किन बेहोस भएको कुरा खुल्न सकेको छैन् । कतिपयले भूतप्रेतको प्रकोपले विद्यार्थीलाई बेहोस पारेको बताउँछन् । अध्यक्ष बशिष्टले विद्यार्थीहरु बेहोस भएको कारण थाहा नभएको बताउनु भयो । यसैबिच, बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्रसित बनेका छन् । विद्यालयको पठन–पाठन आज सोमवार ठप्प रहेको थियो । गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।