२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ हटाउने  कसरतमा  मन्त्री खड्का, समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवेदन नबुझाएको भन्दै मन्त्रालयले दियो शून्य अंक

काठमान्डौं, १९ फागुन ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टकराव उत्कर्षमा पुगेको छ । 

मन्त्री खड्काले कुलमानलाई बर्खास्त गर्न अन्तिम कसरत थाल्नु भएको छ । २०७८ साल साउनमा कुलमान दोस्रोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुनुभएको थियो । उहाँको कार्यकाल अब चार महिना मात्रै बाँकी रहेको छ ।  मन्त्री खड्काले कुलमानलाई दुईपटक स्पष्टीकरण सोधिसक्नु भएको छ । जवाफमा कुलमानले आफूलाई मन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नै नरहेको अवगत गराउनु भएको थियो ।  

उर्जा मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन मूल्यांकनमा कुलमानलाई शूल्य अंक दिएको छ ।  कुलमानले गत भदौमा आफ्नो कार्यसम्पादन मूल्यांकन प्रतिवेदन मन्त्रालयलाई बुझाउन पर्ने थियो । तर, उहाँले मंसिरमा मात्रै बुझाउनु भएको थियो । समयमा कार्यसम्पादन मूल्यांकन प्रतिवेदन बुझाउन नसकेको भन्दै मन्त्रालयले शून्य अंक दिएको हो ।  घिसिङले कार्यसम्पादन मूल्यांकनका लागि देशभरबाट विवरण संकलन गर्न ढिलाइ भएकाले पुसमा प्रतिवेदन बुझाएको बताउनु भयो । 

कुलमानले अघिल्ला वर्षहरुमा ऊर्जा मन्त्रालयबाट कार्यसम्पादन मूल्यांकनमा राम्रो अंक पाउँदै आउनु भएको थियो । आ.व. २०७८÷७९ मा ९४.२३ र २०७९÷८० मा ९८.९४अंक उहाँलाई मिलेको थियो । कार्यसम्पादन मूल्यांकनको आधारमा प्रोत्साहन भत्ता पाउने व्यवस्था रहेको छ । कार्यसम्पादनमा शून्य अंक दिइएपछि उहाँले प्रोत्साहन भत्ता नपाउने हुनुभएको छ । कुलमानले गत आर्थिक वर्ष आ.व. २०८०÷८१ मा गरेका कार्यसम्पादन विवरण मूल्याङ्कनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा ९८.९९ प्रतिशत अङ्क दाबी गर्नुभएको थियो । 

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस