२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

सल्यानमा खोटो सङ्कलनबाट वर्षमा २ करोडभन्दा बढी आम्दानी 

 

सल्यान, १९ फागुन ।सल्यान जिल्लाका सामुदायिक वन समूहले सल्लाको रुखबाट उत्पादन हुने खोटो बिक्री गरेर वार्षिक दुई करोडभन्दा धेरै आम्दानी लिन थालेका छन् । जिल्लाका पहाडी क्षेत्रमा रहेका सामुदायिक वन समूहहरूले खोटो बिक्री गरेर समुदायका विभिन्न विकास कार्य तथा आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गरेका छन् । यसबाट उपभोक्ता पनि खुसी भएका छन् । 
सल्यानको शारदा नगरपालिका–२ स्थित जानकी सामुदायिक वनले खोटो बिक्रीबाट वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । प्राप्त रकम वन व्यवस्थापन,  वृक्षरोपण, रिचार्ज पोखरी निर्माण तथा स्थानीय समुदायलाई ग्यास चुल्हो वितरणजस्ता कार्यमा लगानी गरिएको समूहका सचिव मुना हमालले जानकारी दिनुभयो । 
आर्थिक वर्ष २०८०/८१ मा सल्यानका सामुदायिक वनहरूले २५ सय मेट्रिक टन खोटो बिक्री गरेका थिए, जसबाट दुई करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ । सल्यान सबैभन्दा बढी खोटो सङ्कलन तथा बिक्री हुने जिल्ला हो । यहाँका सामुदायिक तथा राष्ट्रिय वन गरि तीन सयभन्दा बढी वनमा ५ भन्दा धेरै रोजिन कम्पनीले खोटो सङ्कलन गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ, सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । 
खोटो किन्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकिलो १२ रुपैयाँ र निकासी कर प्रतिकिलो ५० पैसा तिर्ने गरेका छन् । यसरी खोटोबाट आम्दानी भएको पैसा कार्यविधिअनुसार खर्च गर्न पाउने व्यवस्था रहेको डिभिजन वन कार्यलय, सल्यानका प्रमुख ललितजंग खड्काले बताउनुभयो

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस