हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि एचपीभी खोप अभियान सुरु

काठमाण्डौँ, १८ फागुन । मौसम अनुकूल नहुँदा हिमाली जिल्ला मनाङ, मुस्ताङ र हुम्लामा रोकिएको किशोरीका लागि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान आजदेखि सञ्चालन भएको छ । यसअघि हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाइ भएको थियो ।
मनाङ, मुस्ताङ र हुम्लामा आजदेखि र डोल्पामा यही फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख डा।अभियान गौतमले पछिल्लो तीन दिन मौसम बदली भएर ती जिल्लाका केही ठाउँमा हिमपात भए पनि खोप अभियानलाई प्रभाव नपर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले गएको माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमा कुल लक्ष्यको ९२ प्रतिशतले एचपीभी खोप लगाइसकेका छन् । अभियानमा १६ लाख ८८ हजार सात सय ८६ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाइसकेका छन् । सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका लागि खोप अभियान सञ्चालन गरेको हो ।