संविधान संशोधनका लागि कार्यदल बनाउने नेपाली कांग्रेसको निर्णय

काठमान्डौं, १७ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने भएको छ ।सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले संविधान संशोधनका लागि सत्तारुढ दलहरूको बैठकमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिनु भयो । त्यस्तै बैठकमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा बनाउन लागिएको केबलकार निर्माणका विषयमा देखिएको विवाद वार्ताबाटै समाधान गर्नुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।
बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले केबुलकार निर्माणका सम्बन्धमा देखिएको समस्या वार्ताका माध्यमबाट समाधान गर्ने विषयमा सुझाव दिने नेताहरूले बताएको जानकारी दिनु भयो । बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भएको थिएन । बैठकमा नेताहरूले दिएको सुझावका आधारमा सत्तारुढ दलहरुको संयन्त्रमा कुरा राख्ने निर्णय भएको पनि मुख्यसचिव पौडेलले बताउनुभयो ।