२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति फेरि सर्यो

काठमाण्डौँ, १६ फागुन ।  कर्णाली प्रदेशमा हुने भनिएको  १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा हिजो बसेको बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ ।

नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको छ । यसअघि २०८१ साल चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता गर्ने भनिएको  थियो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा २०८१ को मङ्सिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो ।

यस्तै बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनावमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई राखेपले निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस