उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाण्डौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउनु भएको छ । बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभएको छ । उहाँका अनुसार बैठकमा पछिल्ला समसायिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । सरकारले ल्याएका अध्यादेश संसद्बाट स्वीकृतिका लागि पटक–पटक मिति तोकिए पनि एकपटक कार्यसूचीमा राखेर फिर्ता गर्नेबाहेक अरु कुनै प्रगति भएको छैन ।
सरकारलाई समर्थन गरेको दल जसपा नेपाल नै अध्यादेशको विपक्षमा देखिएपछि सरकार तीन वटा विकल्प अगाडि सार्ने तयारीमा छ । फागुन २१ गतेसम्म सदन स्थगित गरेर पहिले जसपा नेपाललाई सहमतिमा ल्याउने, विपक्षीमा देखिएका सत्तारुढ दलका सांसदलाई राष्ट्रियसभामा अनुपस्थित गराउने र त्यो सम्भव नभए दल विभाजनको व्यवस्थालाई खुकुलो पार्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक ल्याउने सम्मको सरकारको योजना छ ।
अध्यादेश नै पारित नहुने अवस्था आएपछि सरकारले विकल्प खोज्न थालेको छ । जसमा जसपालाई सहमतिमा ल्याउने, सहमति नभए सत्ता समर्थित दलका सांसद तर जो अध्यादेशको विरोधमा छन उनिहरु अनुपस्थित भएर सहयोग गर्ने र अन्तिम परेमा राजनीतिक दलसम्बन्धी कानुनमा दल विभाजनका लागि रहेको केन्द्रीय समिति र संसदीय दलमा आवश्यक पर्ने ४० प्रतिशतको व्यवस्थालाई खुकुलो पारिदिएमा एकीकृत समाजवादी विभाजन गर्न सकिने र त्यसले सदनमा सहज बहुमत पुग्न सक्छ भन्ने बुझाइमा सत्तारुढ दल छन् । राष्ट्रिय सभामा बहुमतका लागि अन्य विकल्पमा जान सकिने उनीहरुको भनाइ छ ।
अध्यादेशको विषयलाई लिएर संसद्मा सत्ता र विपक्षी दलहरु दिनहुँजसो आरोप प्रत्यारोपमा उत्रिरहेका छन् । त्यसमाथि सत्ता पक्षमै रहेका दलहरु नै विपक्षीमा जाने बताउँदा सत्तारुढ दल थप नैतिक संकटमा देखिन्छन् । अब फागुन २१ को बैठकमा कुनै पनि हालतमा अध्यादेश पेश गर्ने सत्तारुढ दलको भनाइ छ ।
विपक्षमा मतदान गर्ने निर्णय लिइसकेको जसपा नेपालले पार्टीका अन्य विषयसहित अध्यादेशमाथि समेत छलफल गर्ने गरी १८ फागुनमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्दैछ ।