कर्णाली प्रदेशमा मुख्यमन्त्री कँडेलसँग सत्तारुढ दल नेपाली कांग्रेस असन्तुष्ट

काठमान्डौं, १५ फागुन । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस, मुख्यमन्त्री यामलाल कँडेलको कार्यशैलीमाथि प्रश्न उठाउँदै असन्तुष्ट देखिएको छ । केही समयअघि प्रदेश सभामा सरकार छाड्ने चेतावनी दिएका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पुनः सरकारसँग असन्तुष्टि प्रकट गर्नुभएको हो ।
मन्त्रिपरिषद्को बैठक बस्नुअघि शाहीले कांग्रेस संसदीय दलको आकस्मिक बैठक बोलाउनु भएको थियो । बैठकमा सहभागी एक जना सांसदले समपूरक अनुदानका आयोजनाहरू एकतर्फी मुख्यमन्त्रीतर्फ जान थाल्यो भन्ने सुनेपछि एक्कासि बैठक बसेको बताउनु भयो । समपूरक आयोजना भनेको केन्द्र र प्रदेश दुवै तहका सरकारको सह–लगानीमा आधारित आयोजना हो । प्रदेश सरकारले प्रदेशको महत्त्वपूर्ण योजना भनेर सुरुमा मन्त्रिपरिषबाट निर्णय गरी केन्द्रमा पठाउँछ भने त्यसमा आवश्यक बजेट माग गर्दछ । सोही अनुसार केन्द्रले स्वीकृत गरेर बजेटको व्यवस्थापन गर्दछ ।
केन्द्रले जति बजेट विनियोजन गर्छ, प्रदेशले पनि सोही अनुसार बजेट विनियोजन गरेर कार्यान्वयन गर्नु पर्दछ । जसको म्याद फागुन २९ गतेसम्मका लागि रहेको बताइएको छ । तथापि त्यस्ता आयोजनामा मुख्यमन्त्रीले एकलौटी गर्न खोजेको कांग्रेसका एक सांसदले बताउनु भयो ।
दुई दलबिचमा देखिएको शङ्का, असमझदारीलाई दुवै दलका नेताहरूबिच छलफल गरेर निकास दिनुपर्ने उहाँको धारणा रहेको छ । तर, कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले त्यस्तो गम्भीर समस्या नरहेको बताउनु भयो । सरकारका प्रवक्ता विनोदकुमार शाहले पनि सत्ता सहकार्यमा त्यस्तो कुनै समस्या नरहेको बताउनु भयो । मुख्यमन्त्री निकट स्रोतले, कांग्रेसले अनावश्यक लफडा निकाल्ने काम गरिरहेको बताएको छ । यो कुरा कांग्रेसलाई नपचेको मुख्यमन्त्री निकट स्रोतले जनाएको हो ।