सल्यानमा जिल्ला स्तरीय १५ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

फागुन १५, सल्यान
सल्यान जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा बिहीबार कुमाख गाउँपालिका २ वडा नेटाको प्राङ्गणमा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले खेल क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै अब खेल पूर्वाधारमा जोड दिन आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय तहले अब सडक पूर्वाधार भन्दा पनि स्तरीय खेलकुद मैदान बनाउन तर्फ ध्यान दिन आवश्यक रहेको बताउनु भयो । पछिल्लो समयमा खेलकुदका गतिविधि बढ्दै गएकाले जिल्लालाई खेलकुदमय बनाउनको लागि कर्णाली प्रदेश सरकारले आगामी योजनामा यसलाई प्राथमिकता दिने बताउनु भयो ।
मन्त्री अधिकारीले विकास निर्माणका काममा राजनीति गर्न नहुने भन्दै जिल्लाको समग्र विकासको लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भयो ।
यस्तै पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले खेल क्षेत्रलाई उच्चो बनाउन नेपाली खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । अहिले वडा तह देखि जिल्ला प्रदेश हुँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तर सम्म नेपाली खेलाडीको पहुँच पुगेकाले खेलकुद क्षेत्रमा प्रदेश सरकारले लगानी गरिरहेको बताउनु भयो । खेललाई मर्यादित र अनुशासन बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने र आर्थिक र भौतिक रुपमा सबैले आ आफ्नो ठाउँबाट पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले खेलकुद विकासमा बजेट नहुँदा खेल खेलाउन समस्या भएको बताउनु भयो । प्रदेश बाट आउने बजेट पनि कटौती भएकाले जिल्लाको खेल क्षेत्रमा लगानी हुन नसकेको बताउन भयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका १० स्थानीय तहका करिब ९०० जना खेलाडीको उपस्थिति रहेको छ ।
प्रतियोगितामा छात्रछात्रा भलिबल,कबड्डी लगायतका एथलेटिक्स र मार्सल आर्ट तर्फका खेलहरू सञ्चालन हुने जिल्ला खेलकुद समिति सल्यानले जनाएको छ ।
१७ गते सम्म सञ्चालन हुने खेल व्यवस्थापनको लागि ४८ जना रेफ्री सहित १०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जिल्ला खेलकुद समिति सल्यानका अध्यक्ष खडक आचार्यले जानकारी दिनुभयो ।
यस्तै कुमाख गाउँपालिकाका संस्थापक अध्यक्ष दिलमाया बुढामगर, नेपाली काँग्रेस क्षेत्रीय सदस्य इन्द्रराज शर्मा, नेकपा एमालेका सचिवालय सदस्य दिनेश रावत, नेकपा माओवादी केन्द्र सल्यानका सचिव कृति बहादुर पुनदिप,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश नेपाली,नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतम, नेकपाका केन्द्रीय सदस्य भीम सी, कुमाख गाउँपालिका २ का वडाध्यक्ष ईश्वरी शाही, नेपाल पत्रकार महासङ्घ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो