२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

समर्थकसँग मागिन कप्तान अञ्जिलाले माफी

काठमाण्डौँ, १५ फागुन ।  इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले समर्थकसँग माफी मागेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भएको थियो। त्यसको एक दिनपछि उनले सामाजिक सञ्जालमार्फत अपेक्षा गरेअनुसार नतिजा दिन नसकेको भन्दै माफी मागेकी हुन्।


‘फेरि पनि हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘मैदानमा उपस्थित १६ हजार दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू हामी तपाईहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।’

उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो । गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो ।

गत कात्तिकमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि बंगालदेशसँग नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यसपल्ट लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १–० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो । तर, त्यसको तीन दिनपछि सोही मैदानमा भएको फाइनलमा भने नेपालले २–० को नमिठो हार बेहोर्न पर्‍यो । 


यस्ता प्रतियोगिताहरू निरन्तर भए एक दिन अवश्य उपाधि उचाल्ने उनले बाचा गरेकी छन्। त्यसैले माया, साथ र समर्थनको खाँचो रहेको उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस