२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

महाशिवरात्रिको लागि पशुपतिनाथमा दर्शनार्थीको भीड,  ट्राफिक व्यवस्थामा कडाइ 

काठमाण्डौँ, १४ फागुन । महाशिवरात्रिको लागि पशुपतिनाथमा दर्शनार्थीको भीड भएकाले त्यसैअनुसार ट्राफिक व्यवस्था मिलाइएको छ । पशुपति आसपासका ठाउँमा गाडी प्रवेशमा रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सिनामङ्गलदेखि गौशाला हुँदै चाबहिलसम्मको चक्रपथ क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको छ ।

यस्तै पुरानो बानेश्वर, भीमसेनगोला, सिनामङ्गल हुँदै तिलगंगासम्म तथा धोबीखोलातर्फ रातोपुल, कालोपुल, सिफल लगायतका क्षेत्रबाट पशुपतितर्फ जाने गाडीलाई पनि रोक लगाइएको छ ।

चाबहिल, गौरीघाट लगायत क्षेत्रबाट पशुपति क्षेत्रभित्र प्रवेश गर्ने गाडीलाई पनि रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ । पार्किङका लागि सिफल चौर, गुह्येश्वरीपारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, अमालकोट, तिलगंगा करिडोर र वनकाली क्षेत्र छुट्याइएको छ ।

दर्शनार्थी एवम् भक्तजनका गाडीको लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरीपारि करिडोर सडकमा पार्किङको मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरु पार्किङ्ग हुने छन् । दर्शनार्थी र गाडीको चापलाई हेरेर आवश्यकताअनुसार गाडी प्रवेशमा रोक तथा डाइभर्सन गर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस