२०८१ चैत्र ४ गते सोमवार | 2025 March 17th Monday

इन्स्पेक्टर सन्तोषी महतको परिवारले दियो आत्महत्या दुरुत्साहनमा जाहेरी

काठमाण्डौँ, १२ फागुन । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी श्याामबाबु ओलियाले जाहेरी आएको पुष्टि गर्नु भएको छ । अब दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान गर्न तयारी प्रहरीको छ ।

महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएका छन् । ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ । यसैगरी यता घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले छानबिन समिति गठन गरेको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले डीआईजी सिंहको नेतृत्वका ५ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनु भएको छ  । इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । इन्स्पेक्टरको बेसिक तालिममा गरिरहेकी उनी ब्यारेकको महिला शौचालयको नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस