प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ, १२ फागुन । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०÷०८१ पेस गर्ने कार्यसूची छ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सांसद् शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा संघीय र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले सेवाबाट वञ्चित हुने अवस्था आएको जानकारी गराउनुहुनेछ । सांसद राजेन्द्र बजगाईंले नेपालका ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुर (बँदेल)को आतंकबाट खेतीबाली नष्ट भई किसानको सुरक्षामा समेत खतरा पैदा भएको जानकारी गराउनुहुने छ ।