२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गराए

काठमाडौँ, ११ फागुन ।  ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको विषयलाई लिएर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले केबुलकार निर्माणको विषयलाई लिएर भइरहेको अशान्तिको बारेमा सरकारको ध्यानकर्षण गराएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारिक स्वार्थका लागि भाइ–भाइ जुधाउने काम भइरहेको आरोप लगाउँदै त्यसो नगर्न सरकारलाई आग्रह गर्नुभयो । वार्तामार्फत समस्या समाधान गर्न उहाँको आग्रह छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ । आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राख्नुभएको हो ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि केबुलकार निर्माणको विषयलाई लिएर भएको विवादको समाधान खोज्नुपर्ने बताउनुभएको छ । केबुलकार बनाउनु उचित हो वा होइन भनेर एउटा बहसको विषय हुन सक्ने तर ऐनअनुसार पाथीभरामा केबुलकार बनाउन निजी क्षेत्रलाई अनुमति दिइएको पनि भुल्न नहुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस