जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु सर्वसम्मत पारित

काठमान्डौं, ८ फागुन । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु पारित गरेको समितिका सभापति दीपकबहादुर सिंहले बताउनुभयो । उहाँले विधेयकमा भएको भाषिक त्रुटीलाई अन्तिममा मिलाउने सहमति भएको पनि बताउनुभयो । उहाँले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएका कारण अर्को बैठकले टुंगो लगाउने बताउनुभयो ।
उहाँले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानून संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताउनुभयो । सभापति सिंहले विद्युत क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरि विधेयक आउने दाबी समेत गर्नुभयो ।
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार