२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

गैरकानूनी रुपमा गएका नेपाली श्रमिकहरुको सुरक्षा जटिल बन्दै, परराष्ट्रमन्त्री डा.राणा

काठमान्डौं, ८ फागुन ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गल्फ कर्पोरेशन काउन्सिल जि.सि.सी. अन्तर्गतका देशहरुमा गैरकानूनी रुपमा गएका नेपाली श्रमिकहरुको सुरक्षा जटिल बनिरहेको बताउनुभएको छ । आज ओमानको मस्कटमा आयोजित आठौं हिन्द महासागर सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो । परराष्ट्रमन्त्री राणाले उक्त समस्या समाधानका लागि विज्ञ समूह बनाएर काम अघि बढाउने बताउनुभयो ।

नेपालका राजदुतहरुसँग भर्चुअल बैठक बसेर उक्त समस्या समाधान गर्ने काम अघि बढाउने पनि बताउनुभयो । उहाँले गल्फ देशहरुमा गैरकानूनी रुपमा पुगेका नेपाली महिला श्रमिकहरु बढी असुरक्षित रहेको पनि बताउनुभयो । उनीहरुलाई उद्धार गर्न सरकार र त्यहाँको राजदुतावासले पनि धेरै काम गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्नुभयो । परराष्ट्रमन्त्री राणाले नेपालबाट चिकित्सक, इन्जियिनर लगायतका दक्ष जनशक्तिहरु धेरै पुगेको तर दक्ष जनशक्तिलाई पनि अदक्ष जनशक्तिकै जस्तो प्रक्रियामा समावेश गर्दा समस्या परिरहेको बताउनुभयो । 

परराष्ट्रमन्त्री डा. राणाले ओमान सरकारसँग पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको पनि बताउनुभयो । परराष्ट्रमन्त्री राणाले उच्च अध्ययनका लागि विदेश जाने कानूनी र गैरकानूनी विद्यार्थीको अध्यागमन तथ्यांक गृह मन्त्रालयसँग माग्ने बताउनुभयो । उहाँले पर्यटक भिसामा जानेहरुको तथ्यांक पनि माग्ने बताउनुभयो । उहाँले प्रदेश स्तरमै भिसा दिनसक्ने व्यवस्था गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो । परराष्ट्रमन्त्री राणाले, इरानका परराष्ट्रमन्त्रीसंग विपिन जोशीको रिहाईको बारेमा पहल गर्न आग्रह  गरेको समेत  बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस