२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

बितेको माघ महिनामा गाडी दुर्घटनामा १ सय ९९ जनाको ज्यान गयो, चार हजार ५ सय ३५ वटा गाडी दुर्घटनामा परे

काठमान्डौं, ५ माघ । बितेको माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक सय ४७ जना पुरुष, ३९ महिला, ११ बालक र २ बालिका रहेका छन् ।

माघमा गाडी दुर्घटनामा ५ सय ६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क रहेको छ । माघ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९ सय ६२, बस २ सय ५१, टेम्पो २ सय ३५ वटा दुर्घटनामा परेका छन् । २ सय ७३ वटा ट्रक, ट्याङ्कर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क रहेको छ ।

यसैबिच, सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क रहेको छ । गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस