नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्षमा भट्टराई निर्वाचित

काठमान्डौं, १ फागुन । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ । आज सम्पन्न पार्टीको प्रथम अधिवेशनले प्रतिस्पर्धी नेत्रप्रसाद चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार भट्टराईले ७ सय ६१ मत प्राप्त गर्दा चापागाईंले ७३ मतमात्र पाउनु भएको थियो । गएको माघ २९ गते मतदान भएकोमा आज मतपरिणाम आएको हो । महाधिवेशनमा एक हजार ३ सय २४ जना प्रतिनिधि सहभागी रहेकोमा जम्मा ८ सय २६ मत खसेको थियो ।
यसैगरी, उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित हुनुभएको छ । साथै उपाध्यक्षमा मानुषी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित हुनु भयो । त्यसैगरी महासचिवमा सोनामसिंह स्याङतान निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारी र सदस्यहरूले आजै शपथ ग्रहण गर्नु भएको बुझिएको छ ।