जनयुद्धलाई मेटाउन खोज्नेहरू खरानी हुने माओबादी अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिनु भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो । उहाँले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गर्नु भएको छ ।
उहाँले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःशाहस गर्नेहरु खरानी हुने बताउनु भएको छ । जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताउनु भएको छ । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा अगाडि लैजानुपर्ने पनि बताउनु भएको छ ।
जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताउनु भएको छ । जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको उहाँको भनाई छ ।