नेपाल र चीनको युवा टोलीबीच आगामी फागुन ३ गते मैत्रीपूर्ण फुटबल खेल हुने

काठमान्डौं, २७ माघ । आगामी फागुन ३ गते काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोली बीचमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ । खेल दशरथ रंगशालामा हुनेछ । चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।
यस मैत्रीपूर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने अपेक्षा रहेको एन्फाले जनाएको छ । यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ लगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने जनाइएको छ ।
यसैबिच, मैत्रीपूर्ण खेलको अनुमानित बजेट ३८ लाख ९० हजार रुपैया रहेको जनाउँदै एन्फाले खेललाई सफल बनाउन विशेष योगदान पुर्याएकोमा चिनियाँ दूतावासलाई विशेष धन्यवाद ज्ञापन समेत दिएको छ । खेलको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ जना नेपाली खेलाडीहरू हाल बन्द प्रशिक्षणमा रहेका छन् ।