नेपाल समाजवादी पार्टी नयाँ शक्तिको प्रथम महाधिवेशन सुरू, पाँच जनाको अध्यक्ष मण्डल गठन

काठमान्डौं, २७ माघ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको प्रथम महाधिवेशन सुरू भएको छ । काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउसो देखि महाधिवेशन उद्घाटन सत्र सुरू भएको हो । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशनमा करिब एक हजार पाँच सय प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेपाल समाजवादी पार्टी नयाँ शक्तिले निम्त्याएको छ ।
रा.स्व.पा.का कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी, विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटा लगायत उपस्थित रहेका छन् । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशनमा अध्यक्ष पदमा बाबुराम भट्टराई,नेत्र चापागाईं लगायतले उम्मेदवारी दिने तयारी गर्नु भएको छ । पार्टीले सकेसम्म सबै पदमा प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने तयारी गरेको बुझिएको छ ।
यसैबिच, नेपाल समाजवादी पाटी नयाँ शक्तिले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष मण्डल गठन गरेको छ । आज प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी भक्तबहादुर शाह, दुर्गा सोव, सृजना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कर्मी रहेको अध्यक्ष मण्डल गठन भएको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिनु भयो । बन्दसत्रमा निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराइले पेस गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक प्रतिवेदनबारे समुहगत छलफल हुने उहाँले जानकारी दिनु भयो । बन्दसत्रले ११ पदाधिकारी, ९९ सय सदस्य केन्द्रीय समिति चयन गरी २९ गते सम्पन्न हुँदैछ ।