२०८१ चैत्र १२ गते मङ्गलवार | 2025 March 25th Tuesday

नागार्जुन नगरपालिकाका निलम्बित मेयर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर

काठमान्डौं, २७ माघ ।  काठमान्डौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा परेको छ । गरैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले ८ करोड ६९ लाख ८७ हजार १ सय ५ रूपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख बस्नेतले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीपछि अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले ८ करोड ६९ लाख ८७ हजार १ सय ५ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको देखिएकाले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बस्नेत र उनको परिवारले अनुसन्धान अवधिमा २८ करोड ६५ लाख ६१ हजार ९ सय ६७ रूपैयाँ खर्च तथा लगानी गरेको जाँच अवधिको कूल समग्र आयबाट त्यसै अवधिको कूल खर्च तथा लगानी घटाउँदा ८ करोड ६९ लाख ८७ हजार १ सय ५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनु भयो । 

त्यसअघि पुस १४ गते अख्तियारले २२ करोडभन्दा बढी बिगो दाबीसहित घुस तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा बस्नेत, उनकी पत्नी उर्मिला र पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलका साथै पद्मा कोलोनी र पद्मा मर्चेन्ट प्रा.लि. प्रतिवादी रहेका छन् । बस्नेत नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति समेत भएको बुझिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस