प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक नहुने प्रधानमन्त्री ओलीको भनाइ, आगामि फागुन ६, ७ र ८ गते तीन दिनसम्म राजदूतावासहरुमा दीपावली गर्ने

काठमान्डौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनु हुनेगरी राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्ताव अनुसार मूल समारोह समिति र विभिन्न उपसमितिसमेत गठन भएको हो । आजको बैठकमा विभिन्न कार्यक्रममाथि छलफल सहित प्रस्ताव पारित गरी भव्यताका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री एवम् राज्यमन्त्रीहरू, काठमाण्डौ महानगरपालिकाका मेयर, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका मेयर, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाण्डौ उपत्यकाभित्रका मेयरहरू रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षमा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय भएको छ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाउने गरिन्छ ।
यसैबिच, यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास, कूटनीतिक नियोग एवम् वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकमाथि दमन गर्ने, हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली नागरिकको बलिदानी पूर्ण सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गर्नुभयो ।