२७ वर्षपछि दिल्लीमा भाजपा सरकार उदायो

काठमाण्डौँ, २७ माघ । भारतीय जनता पार्टी (भाजपा)ले दिल्लीमा २७ वर्षपछि सरकार बनाउने भएको छ । बुधबार भएको विधानसभा निर्वाचनमा ४८ स्थानमा विजयी भएसँगै भाजपाले दिल्लीमा सरकार बनाउने भएको हो ।
नतिजासँगै भाजपा मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा विश्वासको जित भएको उल्लेख गर्दै एक दशकदेखिको संकटबाट दिल्लीका जनता मुक्त भएको टिप्पणी गरेका छन् । भाजपाका तर्फबाट दिल्लीमा पछिल्लोपटक सन् १९९३ मा सुस्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन ।
७० सिटको विधानसभामा सत्तारुढ आम आदमी पार्टी(आप भने २२ सिटमा सीमित भएको छ । चुनावमा पराजयपछि आप नेता केजरीवालले जनताको फैसला स्वीकार्ने बताएका छन् ।
सन् २०१५ मा आपले ६७ र २०२० मा ६२ स्थानमा जित हासिल गरेर शासन गरेको थियो । यसपटकको चुनावमा भने आम आदमी पार्टी निकै कमजोर देखिएको हो । चुनावमा दिल्लीका पूर्वमुख्यमन्त्री तथा आपका संस्थापक केजरीवाल र पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया पराजित भए ।
वर्तमान मुख्यमन्त्री आतिशी भने विजयी भएकी छन् । सन् १९९८ देखि २००८ सम्म बहुमतसहितको ३ कार्यकाल सत्तामा रहेको कंग्रेसले यस पटक पनि खाता खोल्न सकेन । कांग्रेस दिल्लीमा सिटविहीन रहेको यो लगातार तेस्रो कार्यकाल हो ।