पोखरा गोल्डकप फुटबलमा आजदेखि क्वाटरफाइनलको खेल शुरू हुँदै

काठमाडौँ, २६ माघ । पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनलको खेल शुरू हुँदैछ। पहिलो क्वाटरफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेले खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।
यसअघि हिजो भएको अन्तिम प्रि–क्वाटरफाइनलको खेलमा दुई पटकको विजेता सङ्कटा क्लबलाई हराउँदै भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड अन्तिम आठमा पुग्यो ।
सङ्कटा थन्डरबोल्टसँग ३–१ ले पराजित भयो । योसँगै तीन वटा पूर्व विजेता टोली आयोजक सहारा क्लब, एपीएफ र सङ्कटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन् । थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ ।
प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार