भारतीय गायिका लता मंगेशकरको आज तेस्रो स्मृति दिवस काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाइयो

काठमान्डौं, २४ माघ । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आज तेस्रो स्मृति दिवस काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
गायक रामकृष्ण ढकालले आयोजना गरेको कार्यक्रममा संगीतकर्मी तथा सञ्चारकर्मीहरूले मंगेशकरको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली प्रकट गरेका थिए । त्यस अवसरमा लता मंगेशकरले रामकृष्ण ढकालसँग गाएको लोकप्रिय गीत ‘बाँचुञ्जेलीलाई’को फिमेल भर्सन समेत सार्वजनिक गरिएको थियो । साथै, आठ जना चित्रकारले लताका तस्वीर समेत कोरेका थिए । त्यसरी आर्ट गरिएका तस्वीरलाई लता मंगेशकरको परिवार समक्ष पठाइने गायक ढकालले जानकारी दिनु भयो ।
लता मंगेशकरको स्वरमा रहेको ‘बाँचुञ्जेलीलाई’को भिडियो केही सातापछि सार्वजनिक गरिने पनि गायक ढकालले बताउनु भयो । लता मंगेशकर र रामकृष्ण ढकालले गाएको ‘बाँचुञ्जेलीलाई’ १० वर्षअघि सार्वजनिक भएको थियो । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीत ज्यादै कर्णप्रिय रहेको छ ।