रोल्पा-सल्यानमा मदन भण्डारी राजमार्गको ३ भागमा काम सुरु, एकैपटक ३० भन्दा बढी मेसिन प्रयोग

सल्यान ।
मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा–सल्यान खण्डलाई ३ भागमा विभाजित गरेर काम सुरु गरिएको छ ।
रोल्पाको माडिचौरदेखि सुकाओडार सम्म एकभाग, सुकाओडारदेखि सल्यान पातिहाल्नसम्म अर्को भाग र पातिहाल्न देखि बागचौरसम्म अर्को गरि तिन भागमा काम हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका प्रमुख ई. शंकर पौडेलले बताए । तीन भागकै काम सुरु भएको उनको भनाई छ ।
शुक्रबार मात्रै पातिहाल्न-बागचौर भागको काम बागचौरबाट सुरु गरिएको छ । बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डिसी, वडा अध्यक्ष र स्थानियहरुको सहभागितामा शिल्यान्यास गरेर बागचौर बाट पनि स्तरोन्नतिको काम औपचारिक रुपमा सुरु भएको हो ।
बागचौरबाट पातिहाल्नसम्म ११ किलोमिटर दुरी रहेको छ । अहिले दुई लेन सडक बनाउनको लागि यहाँ पुरानो सडकलाई फराकिलो बनाउने काम हुनेछ ।

त्यस्तै सुकाओडार र घर्तीगाउँको बीचको भागमा १ किलोमिटर बढी खण्ड नयाँ ट्रयाक ओपन गर्नुपर्ने भएकोले यहाँ अहिले दुईतिरबाट ६ वटा ठुलासाना डोजरले काम गरिरहेको आयोजनाका प्रमुख पौडेलले लेकाली अनलाइनलाई बताए । यहाँ नयाँ ट्रयाक खोल्न ठुला कडा चट्टान भएकोले करिब एक महिना जति काम हुने प्रमुखको पौडेलको भनाइ छ ।
उता माडिचौर खण्डमा करिब ५/६ वटा मेसिनले सडक डबल कटिङ गर्ने काम भइरहेको उनको भनाई छ । यो महिना भित्र तीन खण्डमा गरेर ३० भन्दा बढी मेसिनेहरु भित्र्याएर काम धमाधम गर्ने उनले बताए ।
अहिले माडिचौरदेखि घर्तीगाउँसम्म सामान्य खालको सडक भएपनि अहिले राजमार्गको काम तिब्र गतिको भईरहेको र यहि गतिमा अगाडि बढे पश्चिम रोल्पा बासीलाई ठुलो राहत हुने माडी गाउँपालिका अध्यक्ष अम्मर सिंह घर्तीमगरले लेकाली अनलाइनलाई बताए ।

यो राजमार्गले बागचौर नगरपालिका वडा नम्बर ८ र ९ का नागरिकलाई ठुलो राहत गर्ने नगरप्रमुख जनकराज गौतमको विश्वास छ । यहाँ कृषिजन्य बस्तु धेरै उत्पादन हुने भएकोले कृषकलाई धेरै फाइदा हुने मेयर गौतमले बताए ।
अहिले राजमार्गको यो कामले गर्दा रोल्पा सल्यान क्षेत्रमा चहलपहल बढेको बागचौर नगरपालिका ९ का वडा सदस्य कमल डाँगीले बताए । बागचौर देखि माडीचौरसम्म पूरा ठेक्का भएको ५२ किलोमिटर सडक रहेको छ ।
०८४ भदौ ९ गतेसम्म काम सक्ने गरी तीन वर्षको सम्झौता भएको छ । चार अर्ब विनियोजित बजेटमा कुमार श्रेष्ठ निर्माण सेवा प्रालि काठमाडौंले तीन अर्ब २६ करोडमा ठेक्का लिएर काम सुरु गरेको हो । सडक सामान्यतया सात–सात मिटरको चौडाइ हुने र बजार क्षेत्र तथा घुम्तीहरूमा ठाउँअनुसार त्यसभन्दा बढी चौडाइ हुने छ ।
निर्माण ठेक्का सम्झौताको समय भित्रै काम सक्नेगरी आफुहरु लागिपरेको योजना प्रमुख पौडेलको भनाई छ ।
