छत्रेश्वरी गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न, बजेट तथा कार्यक्रम संशोधन

सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ । केही बजेट तथा योजना संशोधन र बजेट तथा कार्यक्रमको समिक्षा सहित महत्वपूर्ण निर्णयहरु सर्वसम्मत रुपमा पारित गर्दै आइतबार गाउँसभा सम्पन्न भएको हो ।
१७ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको आयव्यय विवरण अनुसार गाउँपालिकाको चालू आर्थिक बर्षमा ४९ करोड ४७ लाख २६ हजार ८६८ रुपैया अनुमानित आय रहेकोमा हाललसम्म २२ करोड १ लाख ९२ हजार ३५१ रुपैया मात्र आम्दानी भएको छ । गाउँ पालिकामा हाल सम्म चालू तर्फ १२ करोड १२ लाख ४३ हजार २५९ रुपैया अर्थात ३५.१४ प्रतिशत मात्र खर्च भएको छ भने पुजिगत तर्फ १ करोड १३ लाख ९६ हजार ७२७ रुपैया अर्थात ७.६१ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षमा संचालन भएका योजना कार्यक्रमका सन्दर्भमा समिक्षा र छलफल गर्दै विभिन्न निर्णयहरु सर्वसम्मत रुपमा पारित गरेको गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिए । सो अवसरमा गाउँसभाका अध्यक्ष ओज बहादुर बुढाथोकीले गाउँपालिकाका योजना र कार्यक्रम कार्यान्वयनका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले हाल सम्म सबै गाउँसभाका सदस्यहरुको एकताबद्ध साथ र हातेमालोमा हरेक निर्णयहरु हुँदै आएको भन्दै सबैमा धन्यवाद ज्ञापन गरे ।

सभामा गाउँसभा उपाध्यक्ष बुद्ध कुमारी खत्रीले संशोधित बजेट प्रस्ताव पेश गरेकी थिइन् । गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेत, वडा नम्बर १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली, ३ का वडा अध्यक्ष तिर्थराज दाहाल, ४ का वडा अध्यक्ष छविलाल खत्री, ७ का वडा अध्यक्ष टेक बहादुर बिष्ट, कार्यपालिका सदस्यहरु बसन्ता जिसी, तिला घर्ती, तुल्सा बिकले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा प्राथमिकताका साथ प्रभावकारी र गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिदै सहभागिहरुले चालु वर्षमा बाँकी बजेटको प्रभावकारी उपयोग गरी विकास निर्माणका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । गाउँसभा सदस्य देवेन्द्र राना लगाएतले गाउँसभा बैठकमा प्रस्तुत एजेण्डाहरुमाथी छलफलमा भाग लिदै आवश्यक सुझावहरु प्रदान गरेका थिए ।