भ्रमण वर्ष २०२५ : यि हुन् सल्यानमा घुम्न लायक १० ठाउँ

सल्यान ।
भ्रमण वर्ष २०२५ सरु भएकाे छ । नेपालमा थुप्रै भ्रमण गर्न लाएक पर्यटकीय गन्तव्यका ठाउँहरु छन् ।
कर्णाली प्रदेश अन्तरर्गत पर्ने सल्यान जिल्ला महाभारत पर्वत श्रङखलाको भित्री भागमा नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित जिल्ला हो । कुल १० स्थानीय तह रहेको सल्यान जिल्ला प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिम्बले अडिक जिल्ला हो ।
याे आलेखमा सल्यान जिल्लामा रहेका पर्यटकीय गन्तव्यका ठाउँहरुकाे बारेमा चर्चा गरिने छ ।

१. कुपिण्डे ताल
सल्यान जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा कुपिण्डे ताललाई मानिन्छ । सल्यानको सदरमुकाम खलङ्गादेखि २२ किलोमिटर पश्चिममा पर्ने कुपिन्डे ताल निकै मनोरम आकर्षक छ ।
चारैतिर पहाडले घेरिएको र बिचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जङ्गल र बिचमा नीलो आकाशझैँ उत्तर–दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालकै एक सय गन्तव्यको ठाउँमा पर्ने पर्यटकीय स्थल हो ।
कुपिण्डे तालले वर्षमा ३ वटा रङ बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा मौसमपिच्छे यो तालले परापूर्वकालदेखि रङ बदल्ने गरेको विश्वास गरिन्छ । पानी सधैँ सफा रहने यो तालमा वर्षामा वरिपरिको बाढी पस्दा पनि पानी कहिल्यै धमिलो हुँदैन ।
वरिपरि घना जङ्गल भए पनि यस तालमा पात पतिङ्गर कतै भेटिदैनन । पात खस्नासाथ आफैँ तालको किनारमा पुग्छन् । यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान हो ।
झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिने यो तालमा पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन । यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन । तर, वर्षामा तालमा पानीको सतह केहि मात्रामा बढ्दै जान्छ भने हिउँदमा केहि मात्रामा विस्तारै घट्दै जान्छ ।
कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ १ हजार २ सय मिटर र चौडाइ ३ सय ५० मिटर रहेको छ भने ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पूर्वी–उत्तरी भागमा रहेको कुपिण्डे पुग्न छिन्चु, मेलकुना हुँदै सल्यानको बालुवासङ्ग्रही आएर खलङ्गा आउने पूर्वी–भागको उकालो सडक हिंडेपछि पुगिन्छ । साविकको राप्ती अञ्चलको तुलसीपुरबाट राप्ती राजमार्ग हुँदै सल्यानको प्रमुख व्यापारी केन्द्र श्रीनगरबाट खलङ्गा, जयतपानी हुँदै पनि यो तालमा पनि पुग्न सकिन्छ ।
यस कुपिण्डे तालसँगै जोडिएको कैलुवराह मन्दिरमा पूजाआजा गर्न बर्सेनि टाढा–टाढाबाट भक्तजनसमेत पुग्दछन् । डुङ्गा सयर गर्न, मन्दिरमा पूजापाठ गर्न र मनोरम वातावरणमा रमाउन यो ताल पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

२. खैराबाङ भुवनेश्वरी मन्दिर
खैराबाङ भुवनेश्वरी मन्दिर ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक पर्यटनको एक महत्वपूर्ण स्थल हो । शारदा नगरपालिका वडा नम्बर ११ मा अवस्थित खैराबाङ मन्दिर साविकको हिवल्चा गाविसमा पर्दछ । खैराबाङ भुवनेश्वरी मन्दिरमा शुक्लपक्ष, मङ्गलबार र शनिबार पूजा आराधना गर्नेको घुइँचो लाग्ने गर्दछ । शुक्लपक्ष अष्टमी, नवमी र चतुर्दशीमा यहाँ विशेष दर्शन हुने गर्दछ । चैत शुक्लपक्ष र आश्विन शुक्लपक्षको बेला १५ दिन भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।
भवानी भुवनेश्वरीले मनले चित्ताएको मनोरथ (मनकामना) पूरा गर्ने विश्वास लिएर यहाँ पौराणिककालबाट बलि दिने चलनको सुरु भएको हो । खैराबाङमा पञ्चबलिका रूपमा बोका, राँगो, परेवा, भेडा र हाँसको बलि चढाउने गरिन्छ । वि.सं. १४८० देखि मन्दिरमा पूजाआजा सुरु गरेको किंवदन्ती पाइन्छ ।
खैराबाङ पुग्न राप्ती राजमार्गमा पर्ने सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरबाट ३० मिनेटको सवारी यात्रा तथा २ घन्टाको पैदल यात्रा मार्फत जान सकिन्छ । त्यस्तै, खैराबाङ मन्दिर पुग्नलाई सदरमुकाम खलङ्गाबाट मार्के, मदना हुँदै पुग्न सकिन्छ । यो सडकमा सल्यानको पश्चिम क्षेत्रबाट आउनेहरूलाई सहज हुन्छ भने राप्ती राजमार्ग प्रयोग गर्नेहरूलाई श्रीनगरबाट सहज हुन्छ ।
पुरानो खैराबाङ मन्दिरलाई भत्काएर अहिले प्यागोडा शैलीमा नयाँ मन्दिर बनाइदै छ ।

३. छत्रेश्वरी मन्दिर
छत्रेश्वरी गाउँपालिकामा अवस्थित छत्रेश्वरी मन्दिर सल्यान जिल्लाको अर्काे प्रमुख धार्मिक स्थल हो । शारदा नदीको पूर्वी–भागमा १३०० मिटर उचाइको थुम्कोमा करिब ५० रोपनी क्षेत्रफलमा क्षत्रेश्वरी मन्दिरे अवस्थित छ । शिखर शैलीमा रहेको यस मन्दिर वि.सं. १९९० को दशकमा शिव मन्दिरको रूपमा स्थापित भएको थियो । मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०३७ सालमा नागाबाबाले मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरले सल्यान जिल्लाको सांस्कृतिक र धार्मिक गौरवगाथा बोकेको छ ।
सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्वभ्रमण गर्दा सतीदेवीको अन्तिम अङ्ग यही यहि छायाक्षेत्रमा पतन भएर छत्रेश्वरी देवी, सुकमोला योगिनी, पिशाचेश्वर महादेव प्रकट भएको कथा छ ।
नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एक मात्र शक्तिपीठको रुपमा छत्रेश्वरी रहेको छ । छत्रेश्वरी मन्दिर परिसर उत्तरतर्फ एउटा ठूलो शिला छ, जहाँ सतीदेवीको सम्पूर्ण अङ्ग पतन भएको थियो ।
छत्रेश्वरी मन्दिरमा महाशिवरात्रीका दिन ठूलो मेला लाग्ने गर्दछ । यस दिन मनले चिताएको फल प्राप्त गर्न टाढा–टाढाबाट भक्तजनहरू आई शङ्खमूलमा स्नान गरी छत्रेश्वरी भगवतीको पूजा अचर्ना गर्दछन् ।
छत्रेश्वरी मन्दिरको केहि भाग तल शारदा नदिको छेउमा रहेको शंखमुल पनि यहाँको धार्मिक पर्यटकीय स्थल हो । यहाँ पहिला शङ्ख आकारको मूल र सानो आकारको मन्दिर थियो । तर अहिले स्थानीय सरकारले शङ्खपार्कको रूपमा विकास गरेको छ । यहाँ नेपालकै सबैभन्दा ठूलो शङ्ख निर्माण गरिएको छ । यस ठाउँलाई सल्यानकै आकर्षक पार्कको रूपमा समेत लिइन्छ ।
छत्रेश्वरीमा सतीदेवीका सम्पूर्ण अङ्ग पतन भइसकेपछि महादेवले त्यही शंखमुलमा नुहाई कैलाश पर्वत गएको धार्मिक किंवदन्ती छ । अहिले पनि यो मूलको छेउमा रहेको शारदा नदीमा अस्तु सेलाउने गरिन्छ ।

४. कुमाख लेक
सल्यान जिल्लाकै प्रसिद्ध कुमाख लेक समुन्द्री सतहदेखि २५३७ मिटरको उचाइमा अवस्थित छ । यो लेक सिद्धकुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको बिचभागमा चट्टान झै अडिएको छ ।
कुमाख लेकको टुप्पामा सिद्ध मन्दिर पनि छ । यस मन्दिरमा प्रत्येक वर्षको विजयादशमी देखि कोजाग्रत पूर्णिमासम्म पूजा हुने गर्दछ ।
यहाँ पहिलोपटक जानेले सातपटक मन्दिरको परिक्रममा गरेर वर माग्ने र सो पूरा भएपछि भेडो बलि चढाउने गरिन्छ । पर्यटकीय घुमघाम तथा दृश्यावलोकनका लागि कुमाख लेक निकै सम्भावना बोकेको स्थल हो । चतुर्दशी र कोजाग्रत पूर्णिमाका दिन मन्दिरदेखि करिब एक किलोमिटर तल सिद्ध कुमाख र कुमाख गाउँपालिकाको सिमाक्षेमा पर्ने समथर भू–भागमा सल्यान जिल्लाकै ठूलो मेला लाग्दछ ।

५. ऐतिहासिक फलाबाङ पुतलीदरबार
२२ से २४ से राजा रजौटाको पालामा सल्यानको फालावाङमा निर्माण गरिएको पुतली दरबार एउटा एतिहासिक दरबार हो । तर अहिले त्यो दरबार अस्तित्वमा छैन ।
तत्कालिन फलाबाङी राजा शम्शेर बहादुर शाहले आजभन्दा ११५ बर्ष पहिले बनाएको पुतलि दरबारमा ईट्टा मात्रै प्रयोग गरिएको थियो । दरवार छाउनको लागी जस्तापाता वेलायत बाट ल्याइएको थियो । दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठा, मोठ कोठा समेत निर्माण गरिएका थिए । दरबारमा ५५ कोठा र १०८ झ्याल रहेका थिए ।
तर यी कुनै पनि संरचना अहिले देख्न सकिदैन । देशमा बहुदल आए पश्यात ५० को दशकमा दरबार तहसनहस भएको र यहाँ भएका बहुमुल्य धातु तथा काठहरु चोरी भएर अहिले दरबारको अस्तित्व नै सकिएको छ ।
फालावाङी राजाको राजकाज चल्दासम्म दाङ र सल्यानको शासन व्यवस्था यहीँबाट सञ्चालन हुन्थ्यो । राजा रानीको सवारीका लागि हात्ती, घोडा, डोला, सुसारे, राजाका फौज र जनताको आवात जावातले फालावाङमा विशेषचहल पहल हुने गर्दथ्यो । फालावाङ त्यतिबेला दाङ र सल्यानको शासन सत्ताको मियोको भूमिकामा थियो।
सल्यानी राजाको अन्तिम अवशेषको रुपमा रहेको फलाबाङ दरबारको आफ्नै ऐतिहासिक महत्व रहेको छ । चारैतिर पहाडले घेरिएको सय फालाबाङ क्षेत्रमा पुग्न राप्ती राजमार्गमा रहेको लुहाम बजारदेखि दक्षिण दिशातिरको उकालो पहाडतर्फ जानुपर्छ भने दाङ तुलसीपुरबाट आउँदा दमारगाउँ, अम्बास, मखनटाकुरी हुँदै फालाबाङ आउन सकिन्छ ।
फलाबाङ दरबारको पुनर्निर्माण र संरक्षण हुन सकेमा यो स्थान सल्यान जिल्लाकै प्रमुख ऐतिहासिक संग्रालय र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिनेछ ।

६. कालिमाटी गंगामाला
सल्यान जिल्लाको दक्षिण पश्चिमी भागमा धार्मिक स्थलको रुपमा कालिमाटी गंगामाला भगवतीको मन्दिर रहेको छ । कालिमाटी गाउँपालिका, वडा नं ३ राजीगाउँस्थित गङ्गामाला भगवती मन्दिर देवी शक्तिको आस्थाका कारण यहाँ टाढा–टाढाबाट मानिसहरू पाठापाठी बलि चढाउन आउने गर्दछन् ।
मगर जातिअन्तर्गतका राजीले यस मन्दिरमा पुजारीका रूपमा नियमित पूजा गर्दछन् । परापूर्वकालदेखि नै यस मन्दिरमा राजी जातका गुरुवाले पूजा गर्ने भएकाले गाउँको नाम राजीगाउँ रहन गएको किंवदन्ती रहेको छ ।
वर्षभरि पूजाआज गर्न सकिने यस गङ्गामाला मन्दिरमा श्रावण सङ्क्रान्तिदेखि भदौ १५ गतेसम्म भने पाठापाठीको बलि दिन पाइँदैन । यस्तै, गाईको दूध खुवाएर पालेका पाठापाठी र लुर्कन भएका पाठापाठीको बलि पनि मन्दिरमा निषेध गरिएको छ । यहाँ मङ्सिर पूर्णिमा र जेठको पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ ।
गंगामाला नजिकै कछुवा दह पनि रहेको छ । यो दह कुपिण्डे तालपछिको सल्यानको दोस्रो ठूलो दह पनि हो । २ सय ५० मिटर लम्बाइमा खुम्चिएको कछुवा दह जैविक विविधताले भरिपूर्ण छ । कछुवा आकारको यो दहमा माछा पालनसमेत गरिन्छ ।

७. सिद्ध गुफा
सल्यान जिल्लाकै ठुला गुफाहरु मध्येको एउटा गुफा हो सिद्ध गुफा । सिद्धकुमाख गाउँपालिकाको वडा नं. २ मा रहेको सिद्ध गुफा प्राचीन महत्व र पुरातात्विक सम्भावनाले भरिएको छ । यो गुफाको लम्बाइ करिब १५० मिटर रहेको देखिन्छ । गुफा दुई मुखे रहेको छ । एकातिरबाट भित्र पसेर धेरै तल झरि भित्र विभिन्न आकृतिहरु देखेर अर्कोतर्फबाट उकालो हिडेर बाहिर निस्किन सकिन्छ ।
गाउँलेहरूले सिकारको क्रममा दुम्सी लखेट्दै जाने क्रममा यो गुफा पत्ता लागेको हो । अहिले यो गुफाको संरक्षण गरिएको छ भने आन्तरिक पर्यटकहरूका लागि आकर्षक बनाइएको छ । गुफामा पुग्नका लागि भ¥याङ एवम् पदमार्ग तथा गोलघरको निर्माण समेत गरिएको छ ।

८. मुलपानी
कपुरकोट गाउँपालिका ४ मा रहेको मूलपानी वनस्पतिको लागि साविक राप्ती अञ्चलकै चर्चित ठाउँ हो । यहाँ विभिन्नखाले वनस्पति तथा बोटबिरुवा पाइने गर्दछ । राप्ती राजमार्गसँग सटेको मूलपानीमा अवलोकनको लागि नेपालका विभिन्न जिल्लाबाट मानिसहरू आउने गर्दछन् ।
विशेष गरी यहाँ प्राविधिक तथा विज्ञान शिक्षा सङ्कायमा अध्ययन गर्ने देशका विभिन्न कलेजबाट विद्यार्थीहरू आउने गर्दछन् । यहाँ आएपछि सबैखाले बोटबिरुवाको नाम चिन्न सकिन्छ । सहरको कोलाहल जीवनबाट मुक्त भएर आनन्दको वातावरणमा रमाउनको लागि मूलपानी एउटा मनोरम गन्तव्यको ठाउँ हो ।

९. अग्ला टाकुरा भ्यू टावर
डाँगी जातिहरूको प्राचीन उद्गमस्थलको रूपमा बागचौर नगरपालिका, वडा नम्बर २, लस्तमलाई लिने गरिन्छ । यही लस्तमको डाँडोलाई बागचौर नगरपालिकाले भ्यू टावर निर्माण गरेर पर्यटकीय गन्तव्यको ठाउँ बनाएको छ ।
यहाँको भ्यू टावरबाट बागचौर नगरपालिकाका १२ वटै वडा, छिमेकी पालिकाका भू–भागका साथै, छिमेकी जिल्ला रोल्पा तथा रुकुमका समेत सुन्दर–रमणीय दृश्यहरू अवलोकन गर्न सकिन्छ ।
डाँगी जातिको उद््गमस्थलको रूपमा परिचित भ्यू टावर नजिकै यहाँ नेपालभरका डाँगी जातिहरूको कुल देवताको मन्दिर पनि बनाइएको छ । यो ठाउँ आफैँमा पनि धार्मिक महत्व बोकेको पवित्र भूमि भएकोले धार्मिक आस्थाको हिसाबले पनि पर्यटकीय गन्तव्यको रूपमा रहेको छ ।

१०. मालिका लेक
सल्यान जिल्लाकै प्रमुख आकर्षण मध्येको एउटा मालिका लेक पनि हो । दार्मा गाउँपालिका वडा नम्बर ४ र कुमाख गाउँपालिका ६ को सिमानामा रहेको मालिका लेक पछिल्लो समय पर्यटकीय गन्तव्यको आकर्षण बन्दै गएको छ । समुन्द्री सतहबाट २२ सय मिटर उचाइमा रहेको मालिका लेक धार्मिक तथा ऐतिहासिक सम्पदासँग पनि जोडिएको छ । स्थानीयहरूका अनुसार मालिकामा पहिले एउटा ठुलो पोखरी अर्थात दह थियो रे । जुन दहमा बच्चाहरूले पौडी खेल्न जाँदा एउटा बच्चा डुबेर मरेपछि दह पुरिएको किंवदन्ती छ ।
यस्तै, यहाँ शताब्दीऔँ अघिका मन्दिरका अवशेषहरू पनि भेटिएको स्थानीयहरू बताउँछन्; जुन मन्दिरमा बाईसे तथा चौबीसे राज्यका दर्माली राजा, बडागाउँले राजा र जाजरकोटी राजाहरूले पूजापाठ गरेको किंवदन्ती छ ।
मालिकामा प्रकृतिनिर्मित अनगिन्ती गुफा छन् । मालिका पहाडको दक्षिणी भागमा सिद्धगुफा रहेको छ ।
बडागाउँली राजाहरूले मालिकाका कालिका देवीलाई बडागाउँ लिन चाहे पनि कालिका नगएको किंवदन्ती छ । त्यसपछि बडागाउँली राजा पूजाआजाका लागि मालिका नै पुग्दथे । यहाँ अहिले बडागाउँ, कालागाउँ र भल्चौरका बासिन्दाले दसैँमा बलि दिने गर्दछन् । राणा शासनका तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले मन्दिरमा दिएको घन्टको अवशेष पनि यहाँ रहेको छ । त्यही पौराणिकताको आधारमा यहाँ एउटा नयाँ मन्दिरसमेत बनाइएको छ ।
मालिका उच्च समस्थली भू–भाग हो । यसको टुप्पोमा ठूलो क्षेत्रफलमा फैलिएको मैदान रहेको छ । यो धेरै फराकिलो भएकाले डाँडामा पुगेपछि तराईको समथर भू–भाग पुगेजस्तो लाग्छ । त्यहाँबाट सल्यान, रुकुम, जाजरकोट, दैलेख, सुर्खेत, रोल्पा, बाग्लुङसहितका विभिन्न जिल्ला देख्न सकिन्छ । यहाँ विभिन्न प्रजातिका बोटबिरुवासँगै हरियाली थुम्काले जो कोहीको मन रोमाञ्चित पार्दछ ।