सल्यानको दमाचौरमा करांते प्रतियोगिता सुरु, १४० खेलाडीको प्रतिस्पर्धा
सल्यान ।
सल्यानको दमाचौरमा जिल्ला स्तरीय खुला करांते तथा नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रबार छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घाटन गरेका हुुन् । पंचेबाजा, सोरठी, लहरे, मयुर नाचसंगैको र्याली सहित छत्रेश्वरी १ दमाचौरमा प्रतियोगिताको भब्य रुपमा उद्घाटन भएको हो ।
नेपाल सितोरियो करांते संघ सल्यानको आयोजना र प्रतिभाशाली युवा क्लब छत्रेश्वरी १ सल्यानको सहआयोजनामा प्रतियोगिता सुरु भएको हो ।
करांते प्रतियोगितामा ९ टिमले भाग लिएका छन् । सल्यानका ८ र रोल्पाबाट पनि एक टिमले प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ ।
२० देखि ६५ केजि समुहसम्म महिला तथा पुरुषको एकल काता संचालन हुनेछ जानकारी दिदै नेपाल सितोरियो करांते संघ सल्यानका अध्यक्ष तथा करांतेका अन्तरास्ट्रिय रेफ्री चित्र बहादुर रानाले २२ वटा स्वर्ण, २२ वटा रजत र ४४ कास्य पदकको लागि प्रतिस्पर्धा हुने बताए । करांते प्रतियोगितामा ७५ पुरुष र ६५ जना महिला प्रतिस्पर्धि खेलाडीहरुको सहभागीता रहेको उनले जनाए ।
कार्यक्रमको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष बुढाथोकीले खेलकुदको महत्वबारे चर्चा गर्दै खेलाडिमा समर्पण, मिहेनत र कौशल आवश्यक पर्ने बताए ।
यस्तै छत्रेश्वरी १ का वडा अध्यक्ष प्रकाश हमाल, २ का वडा अध्यक्ष प्रेम नेपाली लगायतले बोल्दै खेलकुद बिकास तथा संस्कृति संरक्षणमा वडास्तरबाट सक्दो प्रयास गरिएको बताएका थिए ।
प्रतियोगितामा खुला नृत्य प्रतियोगिता पनि संचालन हुनेछ भने मौलिक कला संस्कृति र स्थानिय लोक संस्कृति प्रदर्शन गरेका विभिन्न समुहहरुलाइ प्रोत्साहन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत सहित वडा नं १ का जनप्रतिनिधिहरु, नेकपा एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का लगायत वडाका पार्टी प्रतिनिधिहरु नेपाली कांग्रेसका तारक शाह, नेकपा एमालेका काली बहादुर चन्द, माओवादी केन्द्रका प्रदिप योगी, राप्रपा नेपालका लक्ष्मण चन्द, नेपाल करांते महासंघ सल्यानका अध्यक्ष बबी शाह, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, खेलकुद बिकास समिती छत्रेश्वरीका अध्यक्ष सुरेन्द्र चन्द, बिद्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, करातेका खेलाडी एवम निर्णायकहरु लगायतको सहभागिता रहेको थियो ।
भानुभक्त माविका प्रअ खुमानन्द केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खडग शाहीले गरे ।