२०८१ माघ २८ गते सोमवार | 2025 February 10th Monday

एमाले सल्यानको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न, १० जनाले गरे पार्टी प्रवेश

सल्यान ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पार्टीलाई राजनीति मात्र नभएर विकास र समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताएका छन् । नेकपा (एमाले) सल्यानले आज विहिबार सदरमुकाम खलंगामा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भने, ‘राजनीति केवल कमाउने धन्दा होइन, यसको मुख्य ध्येय विकास र समृद्धि हासिल गर्नु हो ।’

मुख्यमन्त्री कँडेलले सल्यानलाई विकास र समृद्धिको नमूना जिल्ला बनाउनका लागि सबै पक्षलाई मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले युवाहरूलाई उद्यमशीलतामा लाग्न र जिल्लाको आर्थिक उन्नतिका लागि थप प्रयास गर्न प्रेरित गरे । ‘आजको प्रमुख कार्य भनेकै समृद्धि र विकास हो,’ उनले भने ।

एमाले सल्यानका अध्यक्ष भीम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुनले पनि विधि विधान अनुसार एकताबद्ध भएर पार्टीलाइ अगाडी बढाउनुपर्ने धारणा राखे ।

प्रशिक्षण कार्यक्रममा एमालेले विभिन्न दलका नेताहरूलाई एमालेमा स्वागत गरेको छ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार सदस्य टोप बहादुर चन्दसहित ८ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका छन् । समाजवादी पार्टीका जिल्ला कमिटी सदस्यहरू रेमन्त डीसी, छवि केसी र अनेमसंघ जिल्ला कमिटी सदस्य लक्ष्मी सुनार तथा छत्रेश्वरी गाउँपालिका कमिटी सचिव केन्द्रराज बुढाथोकी, गिर्दल डाँगी तथा समाजवादी पार्टीकै हेमबाबु सुनार र रेशम बहादुर चन्द एमालेमा समाहित भएका छन् ।

यसैगरी, राप्रपाबाट चुडामणि विक र निर्मला विकले पनि एमालेमा प्रवेश गरेको एमाले सल्यानका उपसचिव सन्सील्ता वलि डिसीले जानकारी दिइन् । एमाले सल्यानले विभिन्न दलबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै भविष्यमा पार्टीलाई सशक्त बनाउने वाचा गरेको छ ।

कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू तथा जिल्ला पार्टीका पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए । जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पुष्पा वोहराले गरेकी थिइन् । कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्ष र सचिव, जनसंगठनका केन्द्र, प्रदेश, र जिल्ला प्रमुखहरू तथा पार्टीका शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

यो कार्यक्रमले नेकपा (एमाले) को संगठनात्मक सुदृढीकरणमा थप बल पुगेको छ भने, पार्टीमा नयाँ जोश र समर्पण थपिएको एमाले सल्यानले जनाएको छ । कार्यक्रमले राजनीतिक माहोलमा उत्साह थपेको तथा प्रदेश र जिल्लाको विकासका लागि नयाँ रणनीति तयार गरेको पनि एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस