२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

छत्रेश्वरी गाउँपालिका ५ मा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, अशक्तलाई सहुलियत

सल्यान ।

रचनात्मक र उदाहरणीय कार्य गर्दै आएको सल्यान छत्रेश्वरी गाउँपालिकाको ५ नम्बर वडाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नेभएको छ । गर्भवती, सुत्केरी महिलाहरुलाई निशुल्क र अपांगता भएका व्यक्ति, अशक्त तथा जेष्ठ नागरिकलाई एम्बुलेन्स भाडामा ५० प्रतिशत छुट दिने निर्णय भएको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।

डाक्टर तथा ल्याब सहितको सेवा प्रदान गरिरहेको लेखपोखरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रसम्म सुत्केरी हुन आउने महिलालाइ निशुल्क एम्बुलेन्स सेवाको निर्णय भएको समितिका अध्यक्ष तथा वडा अध्यक्ष फौद बहादुर बस्नेतले जनाए । ‘स्वास्थ्यको प्रोटोकल अनुसार गर्भ जाँच गराएका वडाभित्रका महिलाहरुलाई सुत्केरी हुनका लागि स्वास्थ्य संस्थासम्म आवतजावत गर्नका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय भएको छ’, गाउँपालिकाका प्रवक्ता समेत रहेका बस्नेतले भने, ‘आमा र बच्चाको स्वास्थ्य उच्च जोखिममा पारी घरमै सुत्केरी हुने समस्याको अन्त्यका लागि यो निर्णयले सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

व्यवस्थीत रुपमा एम्बुलेन्स सञ्चालनका लागि हाल छत्रेश्वरी गाउँपालिकाले ३ वटा एम्बुलेन्स मर्मतका लागि नेपालगञ्ज पठाएको छ । एम्बुलेन्स चालकको पनि व्यवस्था गाउँपालिकाले गरेको भन्दै वडाध्यक्ष बस्नेतले मर्मत भएर आएलगत्तै एम्बुलेन्स सेवा प्रदान हुने जानकारी दिए । घरको आर्थिक अवस्था कमजोर भएका परिवार तथा अशक्त, अपांगता भएका, जेष्ठ नागरिकलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको उनले जनाए ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस